परिवेश- विमर्श

२ प्रकृति-परिवेश



विधिको अकृत्रिम अनुपम सिर्जना, सम्वेदनशील अनि हरियालीयुक्त वन-जंगल,पशु-पक्षी, कीट-पतङ्ग, खोला-नाला,पहाड-कन्दरा,समतल,मरुभूमि,ऋतुचक्र आदि तथा पृथ्विमा यिनको अस्तित्व, व्यवस्था र सञ्चालन प्रक्रियालाई हामी साधरणतः प्रकृति भन्दछौ। प्रकृति आफैमा पूर्ण र परिवर्तनशील पनि छ। वास्तवमा दृष्टिगोचर वस्तुहरूलाई हामी प्रकृति भन्दछौं। मानव निर्मित वस्तु वा संरचनाबाहेक संसारमा जे जति पनि हामी देख्छौँ वा चाल पाउँछौँ त्यसको समग्रता नै प्रकृति हो। प्रकृति आफैँमा पूर्ण र परिवर्तनशील पनि छ। तर यसमा भइरहेका सूक्ष्म परिवर्तनका एकाइहरूलाई हामी उपेक्षा गरिरहेका हुन्छौँ तर यसको परिवर्तनशील संस्कृति नै वास्तविक प्रकृति हो। परिवर्तनशील संस्कृति भन्नाले पारिस्थितिक प्रणाली वा एकाइ बुझिन्छ। वास्तवमा सम्पूर्ण पृथ्वी नै एक बृहत् पारिस्थितिक प्रणाली हो र मानवमा पनि यस एकाइको एउटा आवश्यक अङ्ग हो। प्रकृति मानवद्वारा निर्मित कुनै कला वा वस्तु होइन। अतः मानवका लागि प्रकृति एउटा आदर्शको प्रतिरूप हो जसको क्षेत्र अत्यन्तै व्यापक छ। मूलतः प्रकृतिका पाँच तत्त्वहरू आकाश, वायु ,अग्नि, जल र पृथ्वीका उचित मात्राकै रासायनिक मिश्रणबाट शरीर अथवा ब्रम्हाण्डको रचना भएको कुरा व्द-उपनिषद्हरूलमा बताइएको छ। यसबाट प्रकृति अनि मानवको निकटतम सम्बन्ध प्रमाणित हुन्छ। प्रकृतिका विविध रूप छन् भने मानवले भिन्न-भिन्नै दृष्टिकोणले प्रकृतिको अवलोकन गर्दै आफ्नो जीवनलाई समृद्ध एवम् सम्पन्न बनाउँदै आइरहेको छ।

प्रकृतिलाई अङ्ग्रेजीमा नेचर भनिन्छ। ल्याटिन भाषाबाट अङ्ग्रेजीमा हुँदै आएको यो नेचर शब्दको अर्थ एसेन्सियल क्वालिटिज अर्थात् आवश्यक तत्त्व वा गुण भन्ने हुन्छ। ल्याटिनमा पनि यो शब्द ग्रिसेली भाषाको फिसिस् शब्दको अनुवाद हो। जसको अर्थ ग्रीसमा वनस्पति,पशु-पक्षी आदिसँगको सम्बन्ध भन्ने बुझिन्छ । प्रकृति भन्नाले त्यस्ता विषय-वस्तु आदिलाई बुझिन्छ जसको निर्माणमा मानिसको कुनै हस्तक्षेप चल्दैन। त्यसैले कृत्रिमताका विपरित वास्ताविकता नै प्रकृति हो अनि प्रकृतिबाट हामीले प्राप्त गर्न सकिने स्वच्छ हावा, पानी,वातावरण आदि नै परिवेश वा पर्यावरण हो। प्राकृतिक अथवा पर्यावरणीय दृष्टिकोणले साहित्यलाई विश्लेषण गर्नु नै परिवेश-विमर्श हो। जसलाई अङ्ग्रेजीमा इकोक्रिटिसिज्म भनिन्छ। पिटर बेरीले यसलाई ग्रीन स्टडिज भनेका छन्। यसको सैद्धान्तिक रूपमा घोषणा चेरिल ग्लटफेल्टी र हार्ओड फोर्मद्वारा सन् १९९६-मा सम्पादित दि इकोक्रिटिसिजम् रिडर : ल्यान्डमार्क इन लिट्रेरी इकोलजी - बाट भएको हो। तर इकोक्रिटिसिज्म् शब्दकै प्रयोगचाहिँ अमेरिकेली समालोचक विलियम रुएक्रेटले सन् १९७८ मा गरेका थिए भन्ने रिचर्ड् कार्डिजको विचार देखिन्छ। परिवेश-विमर्श उत्तरआधुनिक चेतनाले खोलेको एउटा नवीतम् पथ हो। यसमा प्रकृति-पर्यावरणको संरक्षण विषयमा प्रकारान्तर रूपले विचार-विमर्श गरिन्छ। समाज, संस्कृति, साहित्य, धर्म, नारी ,राजनीति आदिको पर्यावरणसँगको सम्बन्धलाई सूक्ष्मतापूर्वक अवलोकन गरिनाका साथै यी विषयहरूले प्रकृतिलाई कसरी प्रभावित तुल्याइरहेका हुन्छन् अनि प्रतिक्षण पर्यावरणमा भइरहेको परिवर्तनलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने प्रश्नको उत्तर खोज्नु परिवेश विमर्शको लक्ष्य हो। मूलतः साहित्यमा प्राकृतिक जलवायु वा पर्यावरणको समस्याको प्रतिपादन के कस्तो रूपमा भएको छ भन्ने विषयबारे परिवेशविमर्शले चर्चा गर्दछ।





३ गहन पारिस्थितिकी



प्रकृति अनि पर्यावरण मानवीय समाजको अभिन्न अङ्ग हो अनि यसको सुरक्षाको उत्तरदायित्व मानव समाजले लिनुपर्छ। साथै प्रकृति मानव समाजदेखि पृथक् छैन भन्ने धारणालाई प्रस्तुत गर्दै सन् १९७३ मा नर्वेली दार्शनिक आर्ने नासेले आफ्नो द सेलो एन्ड दि डिप : लङ रेन्ज इकोलजी मुभमेन्ट भन्ने लेखमा डिप इकोलजी शब्दको प्रयोग गरेका छन्। जसलाई गहन पारिस्थितिकी भनिएको छ। मूलतः प्रकृति मानव अनि मानवेतर सबै वस्तुका लागि महत्त्वपूर्ण तत्त्व हो। तर यो आधुनिक नागरिक सभ्यताको उच्च जीवन शैलीले यस सत्यलाई धमिल्याइरहेको छ भने अर्कातिर प्रकृतिलाई आफ्नो घर र सभ्यता ठान्ने अफ्रिका अनि अन्य देशहरूका जनजातिले यस सत्यलाई जोगाएर राखेका छन्। तिनीहरूले बाँच्नका लागि प्रकृतिमै आश्रित हुनुपर्दछ। प्राकृतिक वन-जङ्गगललाई छोडेर सहरको परिवेश वा सभ्यतामा समन्वित हुनु उनीहरूलाई कठिनका साथै प्रायः असम्भव नै हुँदछ। त्यसैले मानवीय समाजका लागि प्रकृति कति अनिवार्य छ सो यस तथ्यबाट अनुमान गर्न सकिन्छ। गहन पारिस्थितिकी, नृकेन्द्री धारणाभन्दा विपरीत र वृहतर चिन्तन हो। यसले प्रकृतिलाई जैवकेन्द्री दृष्टिकोणबाट अवलोकन गर्दछ। मानिस प्रकृतिको अंश हो र प्रकृतिदेखि कदाचित् अलग छैन भन्ने गहन पारिस्थितिकीको केन्द्रीय दर्शन हो। मानिस हरेक कार्य आफैले पूर्ण गरेको ठान्दछ। ऊ सृष्टिका सारा थोकहरू मान्छेको उपभोगकै निम्ति बनेका हुन् भन्ने ठान्दै आफैलाई सर्वस्व अनि महानिरीक्षक मान्दछ। त्यसैले आफैलाई केन्द्रमा राखेर प्रकृति अनि मानवेतर वस्तुलाई किनारीकरण गर्ने नृकेन्द्री प्रवृत्ति र व्यष्टिवाद, उसको वंसानुगत संस्कार बनेको छ। तर प्रकृतिको सहभागिताविना कुनै पनि कार्य सुगठित ढङ्गमा सञ्चालन हुन सक्तैन भन्ने सत्यसँग अवगत हुँदाहुँदै पनि मानवले प्रकृतिलाई नियन्त्रण गर्ने असफल प्रयास गरिरहेको छ। अतः प्रकृतिमा अनेकौं विपद अनि सङ्कटले महाविनाशकारी रूप लिइरहेका छन्। त्यसैले अब प्रकृतिको संरक्षण साथै पर्यावरणलाई सन्तुलित बनाउनका लागि मानवीय सम्वेदना साथै भावनामा परिवर्तन आउनु आवश्यक छ जसका लागि मान्छेले “म” -बाट निस्किएर “हामी”-मा आउने प्रयास गर्नुपर्दछ भन्ने गहन पारिस्थितिकीको मान्यता छ।

गहन पारिस्थितिकीका प्रवक्ताहरूले मान्छे प्रकृतिको अंश हो भन्ने तथ्यलाई निरीक्षण गर्ने दुईवटा दृष्टिकोण अघि राखेका छन्। एक व्यवस्था सिद्धान्त (सिस्टम् थियोरी) दोस्रो गेअ अनुकल्पना (गेअ हाइपोथेसिस)। व्यवस्था सिद्धान्तअन्तर्गत पृथ्वीलाई निकायको रूपमा हेरिन्छ यसभित्र पनि अरू थुप्रै व्यवस्थाहरू पूर्ण र स्वतन्त्र रूपले सङ्गठित भएका हुन्छन्। पृथ्वीभित्र अरू निकायहरू स्वतन्त्र रूपले सङ्गठित भए तापनि पृथ्वी स्वयम् भने अर्को वृहत् निकायको अंश मात्रै हो। एउटा कोशिकाभित्र अनेकौं सूक्ष्म कोशिकाहरू हुन्छन् तर कोशिका पनि अर्को वृहत्तर व्यवस्थाभित्रको नाभिक बिन्दु वा केन्द्रकको सानो अंश मात्र हो। अर्थात, एउटा सुन्तलाभित्र भएका केस्राहरू आफैमा पूर्ण हुँदाहुँदै पनि एउटा सिङ्गो सुन्तलाको बृहत्तर एकाइको अंशका रूपमा रहेको हुन्छ। त्यसरी नै मान्छले पनि विभिन्न व्यवस्थाहरू, जस्तै- समाज,साहित्य,संस्कृति आदिलाई लिएर बसेको हुन्छ, तर मान्छे स्वयम् भने प्राकृतिक व्यवस्थाको सानो अंशमात्रै हो। गेअ अनुकल्पनाअन्तर्गत व्यवस्था सिद्धान्तलाई नै अघि बढाएर यस सिद्धन्तलाई ब्रम्हाण्डकै सन्दर्भमा प्रयोग गरिन्छ। यसअन्तर्गत प्रकृतिमा भएका सम्पूर्ण अस्तित्व वा सत्ता अर्को वृहत्तम् अलौकिक महानिकायका अंश हुन्। प्राचीन ग्रिसेली परम्परामा गेअ भन्नाले प्रकृति सञ्चालित पृथ्वीका देवी-देवता भन्ने बुझिन्थ्यो। जैव व्यवस्थामा आफैलाई प्रकृतिसँग सन्तुलित बनाई राख्ने प्रवृत्ति हुँदछ। त्यसका साथै कालअनुरूप आफ्नो संरचनालाई स्वाभाविक विकास गर्दछ। वैज्ञानिकहरूले अनुसन्धानबाट प्रकृतिमा पनि यसप्रकारको प्रवृत्ति हुन्छ भन्ने निष्कर्ष निकालेका छन्। जसअनुसार प्रकृतिले आफैलाई सन्तुलन बनाई राख्नमा अक्सिजनको मात्रा, तापमान,ऋतु परिवर्तन आदिलाई व्यवस्थित प्रकारले सञ्चालन गर्छ। फलस्वरूप मानव शरीरले पनि शारीरिक तापमान, प्राणवायु आदिलाई धमनीद्वारा सन्तुलित बनाइराख्छ। यो मानवद्वारा नैसर्गिक रूपमा गरिने प्रकृतिको अनुकृति हो। प्रदूषित पर्यावरण,प्राकृतिक सम्पदाको विनाश जस्ता गम्भीर समस्याप्रति चिन्ता व्यक्त गर्ने गहन पारिस्थितिकी मूलतः आध्यात्मिक दृष्टिकोणमा आधारित छ। त्यसैले यसलाई डिप इकोलजीसँगै होलिस्टिक इकोलजी पनि भनिन्छ। यस सिद्धान्तले भावना, अभौतिकता, अनि कर्मद्वारा प्रकृतिको समस्यालाई समाधान गर्ने प्रयत्न गरिन्छ साथै व्यष्टिवाददेखि समष्टिवाद तर्फको विस्तारतालाई प्रोत्साहान पनि दिन्छ।

लेन् व्हाइटअनुसार पश्चिमका इसाईहरूले मानव अनि प्रकृतिलाई अलग गराएर द्वैतवाद सुरु गरे। पुराना धार्मिक विश्वासीहरू रुख,हावा,पानी,पशु आदिमा ईश्वरीय वास भएको देख्तथे। तर आधुनिक इसाई मतले यस विश्वासका प्रकृतिको प्रयोग निजी स्वार्थसिद्धि हेतु प्रयोग गर्न थाले। फलस्वरूप दिन-दिनै प्रकृति चरम मानव उपभोगको साधन बन्दै गयो। प्रकृतिप्रतिको यस्तै शोषणका विरोधमा ग्रिनपिसजस्ता पर्यावरणवादी आन्दोलन सुरु भए। पर्यावरणीय संरक्षणका लागि यसप्रकारका आन्दोलनहरू विगत चार-पाँच दशकदेखि निरन्तर रूपमा चल्दै आइरहेका देखिन्छन्।

दुई-चार दशकदेखि पर्यावरणप्रति चिन्तित हुने पाश्चात्य देशका विद्वान्‌हरू भन्दा हजारौं वर्ष अघिका वैदिक ऋषिमुनिहरू प्रकृति प्रति अधिक सचेत थिए। सामाजिक, सांस्कृति,धार्मिक,आर्थिक सबै प्रकारका विषयका लागि उनीहरू प्रकृतिमाथि आश्रित रहन्थे। तत्कालीन साहित्यमा प्रकृतिप्रति प्रेम,सम्मान, संरक्षणको भावका साथै पारिस्थितिक प्रणालीमाथि विशेष आस्था रहेको देखिन्छ। हजारौं वर्ष अघि लेखिएका वैदिक ग्रन्थहरूमा प्रकृति नै मुख्य विषय रहेको पाइन्छ। प्रकृतिबारेमानिसमा हुनुपर्ने सचेतता अनि यसको महत्त्वलाई वैदिक वाङ्मयमा यथेष्ट सूक्ष्म रूपमा अङि्कत गरिएको छ। श्रीमद्भागवत गीतामा प्रकृति अनि मानवको पारिस्थितिक सम्बन्धलाई यसप्रकारले वर्णन गरिएको छ :

अन्नाद्भअवन्ति भूतानि पर्जन्यादन्नसंभवः।

यज्ञाद्भवति पर्जन्यो यज्ञः कर्मसमुद्भवः ।। ३/१४



अर्थात्,सम्पूर्ण प्राणी अन्नबाट उत्पन्न हुँदछ अनि अन्नको उत्पति वर्षाबाट हुँदछ। त्यसैले यज्ञ गर्नाले वर्षा हुन्छ अनि यज्ञ विहित कार्यद्वारा हुँदछ। यसरी वैदिक वाङ्मयहरूमा प्रकृति अनि मानव पारिस्थितिक सम्बन्धलाई वर्णन गरिएको पाइन्छ।

वैदिक परम्परा अथवा हिन्दु जीवन शैलीमा प्रकृतिलाई ठुलो महत्त्व दिइन्छ। हिन्दु विश्वासमा पर्यावरण वा प्रकृतिको संरक्षण गर्नुपर्ने धारणा आधुनिक मात्र होइन। आजको आधुनिक समाज निर्माण हुनुभन्दा धरै वर्षअघिको प्रागैतिहासिक कालदेखि नै ऋषि-महर्षिहरूले प्रकृतिलाई पूज्य र वन्दनीय मानेर त्सको रक्षा गर्दै आइरहेका थिए। अतः वैदिक संस्कारमा प्रकृति पूजनलाई सर्वाधिक महत्त्व दिइएको छ। मानवले मानवेतर वस्तुहरू साथै खोला-नाला वन-जंगल आदिसँग समन्वय राखेर नियमित रूपले सृष्टि सञ्चालनमा प्रकृतिलाई सहयोग गरिरहेको हुन्छ।

पृथ्वीलाई आमाको स्थानमा राखेर पुजा गरिने हुनाले घर,मन्दिर वा कुनै पनि मठ आदि निर्माण गर्न अघि धरतीको पूजा गरिन्छ जसलाई भूमिपूजन भनिन्छ। घर,मन्दिर आदि बनाउँदा पृथ्वीलाई लाग्ने चोट वा ऊमाथि हुने हिंसात्मक कार्यको लागि क्षमा माग्नका लागि भूमिपूजन गरिन्छ। यसले प्रकृति अनि मानवको आन्तरिक भावनात्मक सम्बन्धमाथि प्रकाश पार्दछ। यसरी गहन पारिस्थितिक दृष्टिकोणबाट पर्यावरण,मानव अनि साहित्यको गहन अध्ययन गरिन्छ। परिवेश-विमर्शात्मक दृष्टिकोणले गरिने साहित्यावलोकनमा गहन पारिस्थितिकी प्रणाली पनि एउटामहत्त्वपूर्ण अंश हो।