Wednesday, September 15, 2010

प्राधिकरण सन्दर्भ

अब सम्भवतःदार्जिलिङमा हुनलागेको प्राधिकरणलाई लिएर धेरैको आफ्नै मत विचारहरू देखापर्दैछ। राजनैतिक,शैक्षिक विभिन्न क्षेत्रका विभिन्न ठाउँका मतहरू आउन थालेको छ। हालैको समचारमा  शिक्षा उच्च शिक्षा अथवा विद्यालय,महाविद्यालयमा नियुक्तिको अधिकार पनि यस प्राधिकरणले लिनेछ भन्ने सुनियो। विषय राम्रो छ। हाम्रै मानिसहरूले प्रशासनिक व्यावस्था पाए धेरै खुसीको कुरा हो। तर के त्यस नियुक्तिले आज दार्जिलिङमा जस्तो शिक्षाण व्यवस्था छ त्यसालाई उन्नत दिशामा लगेर जान सफल बन्छ? वा  यसलाई अझ तल्लो दर्जामा त लगेर जाँदैन? भन्ने प्रश्नहरू पनि देखिँदैछ। पहाडमा आज माध्यमिक र उच्च माध्यमिक शिक्षक,शिक्षिका नियुक्तिको कुनै चाजो नभएको कारणले पहाडको शैक्षिक व्यवस्थाको स्तर घटेर गएको छ। ठिकसँग पढाइ नभएका कारणले धेरै जसो विद्यार्थीहरू बाहिर पढ्न गइरहेका छन्। राजनैतिक हडतालको दिनरात सिकार हुने विद्यालयहरूमा कुनै पनि ढङ्गमा पढाइ राम्रो हुन सकेको छैन। हाम्रो पहाडमा गुण नभएका अथवा चरित्र प्रधान ज्ञानी मानिसहरूको कमी छैन...तर तिनीहरूले सठिक स्थान पाएका छैनन्। भोली गएर अवश्य पनि उच्च विद्यालय र महाविद्यालयहरूको शिक्षक नियुक्तिमा राजनीति हुने नै छ। एउटा स्थायी रिक्त स्थानमा चारजना अस्थायी कर्मचारी नियुक्ति गरेर कलेज स्कूल चलाउन बेर छैन। जसको उदाहरण हजारौँ अस्थायी कर्मचारीहरू आज निश्चित भविष्यका लागि छटपटाइरहेका छन्। यो चिन्ताको विषय हो।यस्तो भए हाम्रै पहाडका नानीहरूको भविष्य अन्धकार हुनेछ। नोकरी पाउनु ठूलो कुरो होइन नोकरीको नाममा राजनीति गरेर पहाडको भविष्य देशको कर्णधार मानिने विद्यार्थीहरूको भविष्यमा राजनीति गर्नु कति सम्म सार्थक छ त्यो बुझ्न आवश्यक छ। त्यसैले प्राधिकरणमा माध्यमिक उच्च माध्यमिक र महाविद्यालयका शिक्षक शिक्षिकाको नियुक्तिमा राजनीति नगरेर इमानदार रहनु पर्ने प्रत्येक पहाडवासीको उत्तरदायीत्व हो। दिनदिनै शिक्षा प्रणालीमा आएको परिवर्तनले शिक्षास्तरलाई अझ कठिन तहमा लगेर जाँदैछ भने यता पहाडमा शिक्षाव्यवस्थामा राजनीति गरेर यसलाई निम्नस्तरमा पुर्‍याउने प्रयास हुँदैछ। आफ्नो खुट्टमा आफै बञ्चरो हान्ने काम हुँदैछ। त्यसैले राजनीतिको कुवामा शिक्षा व्यवस्थालाई खिचडी बनाउनु हुँदैन। आज असल शिक्षकको नियुक्तिले भोलि सफल विद्यार्थीको जन्म हुन्छ। कुपुत्र हुँदा केही बिग्रेर जाँदैन भोली गएर उसलाई सुपुत्र बनाउन सकिन्छ तर कुमाताले कहिले पनि सुपुत्र जन्माउन सक्तैन त्यसैले असल शिक्षकले नै सफल विद्यार्थी निर्माण गर्न सक्तछ। पाठ्य पुस्तक पढाउने मात्रै गुरू वा शिक्षकको धर्म होइन। भोलिको निम्ति दह्रिलो पृष्ठभूमि बनाउनु पनि उसको धर्म हो। त्यसैले यस विषयमा सबैले सचेत भएर सोच्ने मेरो आग्रह  छ। राजनीति र शिक्षालाई अलग राखेर अघि बढ्ने अनुरोध।

No comments:

Post a Comment